Monday, November 17, 2014

कामरेड लाई पत्र!!

कामरेड लाई पत्र!!
प्रिय कामरेड !
तिम्रा रुमानी भाशणहरु सुनेर
कापी किताब फ्याकियकै हो
हतियार बोकियकै हो
फरक यत्ती हो
तिमी फर्मान गर्थ्यौ
म मोर्चाहरुमा भिडिरहन्थे।
प्रिय कामरेड !
सपना मैले नि देखेकै हो
तिमिले देखायकै हो
फरक यत्ति हो
तिमी साम्यवाद को सपना देख्थ्यौ
म बबुरो
खाना नाना र छाना को सपना देख्थे।
प्रिय कामरेड!
दुश्मन सङ्ग छेलियर
राजधानी टेकेकै हो
तातो सडक मा पसिना पोखेकै हो
फरक यत्ती हो
म भोको पेट कसेर ढुङ्गा बर्साइरहन्थे
तिमी दिल्ली को महल बाट कासन गर्थ्यौ।
प्रिय कामरेड!
क्रान्ती पूरा भो भनिएकै हो
अबिर जात्रा गरिएकै हो
रात भर सडक मा म पनि नाचेकै हो
फरक यत्ती हो
तिमी सिन्हदरबार छिर्यौ
म क्यान्टोनमेन्ट।
प्रिय कामरेड !
म धैर्यता साधेर बसिरहे शिबिर भित्र
मेरो छाती नापियो
बाहिर पठाइयो
कुनै गुनासो नगरेकै हो
फरक यत्ती हो
म कार्यकर्ता बने(योद्धा बाट )
तिमी नेता बन्यौ(कमान्डर बाट)
कामरेड!
समय फेरियो
तिमी मोटाउदै गयौ
म दुब्लाउदै गए
तिमीले न्यानो महल पायौ
मेरो झुपडी को छानो भत्कदै गयो
फरक यत्ती हो
तिमी राजधानी मा मस्त
म 'खाडि 'मा ब्यस्त।
प्रिय कामरेड !
सुन्दैछु अचेल तिमी अप्ठ्यारोमा छौ अरे
रोल्पा रुकुम घुम्दै छौ अरे
नयाँ क्रान्ती को कुरा गर्दै छौ अरे
कामरेड ,
म पनि कहाँ सजिलो मा छु र ?
मरुभुमी मा पसिना चुहाउदै छु
फरक यत्ती हो
तिमिलाइ अझै 'खुन' को सपना छ
मलाइ 'नुन 'को सपना छ
माफ गर कामरेड !अब म तिम्रो योद्धा हुन सक्दिन।

Thursday, November 13, 2014

घन्टाघर वरपर घुमेको सपना



घन्टाघर वरपर घुमेको सपना

-खिम पन्थी                       

एउटा ठिटो ! आकाशे रंगको सर्ट, निलो पाइन्ट र गोल्डस्टार जुत्ता | पछाडी जिनको झोला | त्यसभित्र एउटा प्लास्टिकमा जतनसाथ बेरिएको एस्.एल.सी प्रथम श्रेणीको लब्धांक | ओर्लन्छ काठमाडौँ आजभन्दा तेह्र बर्ष अगाडी | रानीपोखरी छेउको घन्टाघर, त्यहिको त्रिचन्द्र क्याम्पसमा भर्ना हुन्छ | आइ.एस्.सी पढ्न थाल्छ | पढ्न थाल्छ भन्दा नि घोक्न थाल्छ सुत्रहरु ! कहिले बागबजारको ट्युसन सेन्टर त कहिले क्याम्पसका कक्षाकोठा | भौतारीरहन्छ | सहर भीमकाय लाग्छ | यता उता त्यतिकै कुद्न मनपराउछ | प्राय पैदल हिड्छ | अक्कलझुक्कल गाडी चड्छ |
आन्दोलनको मौसम छ | क्याम्पस सधैंजसो अशान्त हुन्छ | कक्षा पनि अक्कलझुक्कल हुन्छन् | प्रयोगशालामा प्राक्टिकल चलिरहेको छ | एक्कासी बाहिर कोलाहल सुनिन्छ | अनि बाहिर निस्कन्छ साथीहरुको हुल संगै | केहि तहह हुदैन त्यसपछि उसलाई | ब्युझदा आफुलाई बिर अस्पतालको आकस्मिक कक्षामा भेट्छ | टाउकोमा पट्टि बाधिएको छ |नजिकै छ स्लाइनका बोतल |
क्याम्पस भर्ना भएको एक हप्तामा नै उ घाइते हुन पुग्छ | उ आन्दोलनकारी थिएन | उसलाई कुनै सरोकार पनि थिएन | प्रयोगशालाबाट बाहिर निस्कदा प्रहरीको लाठी चार्जमा परेको थियो | रगताम्मे भएर लडेपछि कसैले उसलाई अस्पताल पुर्याएका थिए | उ चिन्दैन कसले पुर्यायो अस्पताल !
क्याम्पसमा उसको नाम चलिसकेको थियो | आन्दोलनको घाइते भनेर सम्मान थाप्छ | बिस्तारै क्याम्पसका ‘दाइ’ हरुले चिन्न थाल्छन् | चिया खान बोलाउछन् | माया गर्न थाल्छन् | उसलाई बिरानो ठाउँमा आफन्त भेटेझैँ लाग्न थाल्छ | अब उ कक्षामा भन्दा धेरै क्याम्पसको गार्डेन र क्यान्टिनमा भेटिन थाल्छ |
उसको नामको अगाडी अब कमरेड झुन्डिएको छ | कमरेड ‘विकास’ | सानोतिनो आन्दोलन अब एक्लै मच्चाउन सक्ने भएको छ | स्ववियु चुनाव आउछ | उम्मेदवार बन्छ तर हार्छ | जेनतेन पढाइलाइ अगाडी बढाएकै छ | बेलुका अलि ढिलो सुत्छ | घोक्नुपर्छ फिजिक्स्का थियोरी | रसायनशास्त्रका समीकरण | प्राक्टिकल त उसले नगरेपनि हुन्छ | ल्याब दाइहरुलाई चिनेको छ | कतिपय शिक्षक पनि उसको चिया पिउने सर्कलमा परिसकेका छन् | तर उसलाई थियोरी परिक्षाको डर छ | परिक्षा आउनु केहि महिना अगाडी देखि ‘भूमिगत’ हुन्छ | अनि झुल्कन्छ परिक्षा सकेर | परीक्षाफल आउछ | प्रथम श्रेणीमा उतिर्ण हुन्छ | सबैको अगाडी ‘सान’ झार्न थाल्छ | कतिले पत्याउदैनन् उसको अंक | आशंका गर्छन् | कतै यसले ‘धन्दा’ त गरेन |
‘धन्दा’ भनेको बुझ्ने भैसकेको छैन | बिस्तारै बुझ्न थाल्छ | एकदिन उसलाई पन्चकन्या क्याम्पस अगाडिको क्याफेमा बोलाइन्छ | अगाडी आइ.एस्.सी प्रथम वर्षको रसायनशास्त्रको प्रश्नपत्र र संगै उत्तरपुस्तिका टक्राइन्छ र लेख्न लगाइन्छ उत्तरहरु | उ फटाफट लेख्छ उत्तर |
केहि समय पछी ‘सिनियर’ दाइ आउछन् | पोको पारेर क्याम्पस भित्र छिर्छन् | त्यसदिन उसलाई खसीको मासु र भात ख्वाइन्छ नजिकको होटेलमा | बल्ल त्यहाँबाट निस्कदा उसले बुझ्छ ‘धन्दा’ के हो |
बा आमाको डाक्टर बनाउने सपना छ | एम्.बि.बि.एस् प्रवेश परिक्षाको फारम भर्छ | केहि महिना मोटा किताब पढेर बस्छ, बाहिर त्यति निस्कदैन |
असोजको पहिलो हप्ता | उ डाक्टर बन्ने कि नबन्ने भन्ने कुराको टुंगो लगाउने परिक्षा छ | सिनियर दाइसंग भेट्छ |
बिरगंजमा सम्मेलन छ ‘राष्ट्रिय’ जान पर्छ भाइ’ दाइले भन्छन् |
कोठा पुगेर झोला प्याक गर्छ अनि लाग्छ बिरगंजमा हुने ‘राष्ट्रिय’ सभामा | काठमाडौँमा उसको परिक्षा छुटिसकेको हुन्छ |
अब उसंग बि.एस्.सी भर्ना हुने भन्दा कुनै गतिलो उपाय छैन | फेरी कुद्न थाल्छ घन्टाघरतिर |
राजाले ‘कु’ गर्छन् | सहर शान्त हुन्छ | रेडियो, टिभी, मोबाइल सबै बन्द छ | उसलाई खबर पठाइन्छ बिहानै क्याम्पस आउनु भनेर | सबेरै पुग्छ | चार-पाँच जना दाइहरु जम्मा हुन्छन् | दुइ-तीन जना त उसकै साथि जम्मा गर्छ | प्रयोगशाला मुनिको अध्यारो कोठा | अलिकति पेट्रोलको व्यवस्था हुन्छ | पुराना कपडाहरु जम्मा गरिन्छ | केहि समयमा राजा ज्ञानेन्द्रको ‘पुत्ला’ तयार हुन्छ | पुत्ला बोकेर सडकमा निस्किन्छ | नाराबाजी सुरु हुन्छ | चारैतिरबाट प्रहरीको घेरामा पर्छ | समातिन्छ र नजिकैको प्रहरी चौकीमा पुर्याइन्छ | अब उ बन्दि भएको छ, बिद्रोही भएको छ | राजद्रोहको अभियोग लाग्छ | एउटा ठुलो बन्दिगृहमा पुग्छ | उ जस्तै अभियोगका साठी-सत्तरी मान्छे भेट्छ | अधिकांश ठूला नाम चलेका नेता भेटिन्छन् | सबैभन्दा कान्छो बन्दि उ नै छ | सबैले माया गर्छन् | राजनीतिक किताबहरु पढ्न दिन्छन् | बिपी, पुष्पलालका किताबहरु पढ्न थाल्छ | म केहि कोर्सका किताबहरु पुर्याइदिन्छु | परिक्षा नजिकै आइरहेको छ | म संगको भेटमा पढ़िराछु भन्दै थियो | मलाई अचम्म लाग्छ, कसरि पढ्न सक्छ त्यत्रो मानिसको हुलमा |
अदालतको आदेश आउछ | उसलाई लगाइएको आरोप प्रमाणित हुदैन | रिहा हुन्छ | त्यहि दिन फेरी क्याम्पसको गार्डेनमा भेला बस्छ | एक महिनापछि बि.एस्.सी प्रथम बर्षको परिक्षा छ | अब फेरी उसको ‘भूमिगत’ जीवन सुरु हुन्छ | परिक्षा राम्रो गर्छ | रिजल्टको दिन | सबैभन्दा अगाडी ‘मार्कसिट’ हात पार्छ | ७५ प्रतिशत ल्याएको हुन्छ | हामीलाई फेरी पत्यार लाग्दैन | हाम्रो ब्याचको ‘टपर’ उही हुन्छ | फेरी कोही-कोही भन्न थाल्छन्, ‘धन्दा’ गर्यो कि क्या हो यसले ? दोश्रो वर्षको कक्षा सुरु हुन्छ | उसलाई बिरलै कक्षाम भेटिन्छ | प्राय गार्डेन तिरै कुदिरहेको हुन्छ हातमा सेतो ‘My Clear Bag’ हुन्छ | भर्नाका कागजात बोकी डुल्छ | कसैको भर्ना छुट्यो भने उसलाई नै गुहारिन्छ | छात्रवृत्तिको फारम, परिक्षा फारम देखि प्रवेसपत्रका चांगहरु उसको झोलामा हुन्छन् | अब त उ पनि ‘दाइ’ भैसकेको छ ! कमिटिको सचिब अरे ! स्वागत कार्यक्रम चलाउछ | सबैलाई मन छुने भाषण ठोक्छ | प्राय विद्यार्थीको ठूलो हुलले घेरिएको भेटिन्छ |
दोश्रो बर्षको परीक्षाफल आउछ | अघिल्लो बर्षको भन्दा कम नम्बर ल्याएको छ | तर उसलाई चिन्ता छैन | बिहानै क्याम्पस आउछ | राति आठ नबजी कोठा जादैन |
फेरी चुनावको मौसम छ | जोडतोडले प्रचार चलेको छ | उ पनि उम्मेदवार बन्छ | यसपाली उसको सम्भावना राम्रो छ | मनोनयन दर्ता गर्छ | सबैसंग सहयोगको अपिल गर्छ | म पनि लागेको छु उसलाई जिताउन | तर उम्मेदबारको अन्तिम नामावली प्रकाशन हुदा उसको नाम सुचिमा हुदैन | उसको संगठनले आन्दोलन गर्छ | क्याम्पस तोडफोड हुन्छ | उसकै उम्मेदबारी रद्दको बिषय ठूलो बन्छ | अब उ उम्मेदबार रहेन | थाहाछैन उसको नाम किन हटाइयो ? मनोनयनपत्रमा हस्ताक्षर छुटेकाले उम्मेदबारी रद्द भयो भन्छ प्रशासन | उ मान्न तयार छैन | भन्छ- म बिरुद्द षड्यन्त्र रचियो | क्याम्पसमा उसको संगठनको पकड मजबुत देखिन्छ | चुनाब हुन्छ | उसका साथीहरुले चुनाब जित्छन् | उ त्यहि खुसीमा रमाउछ |
बि.एस्.सीको पढाइ सकिन्छ | उ संगठनको अध्यक्ष भएको छ क्याम्पसको | म एम्.एस्.सी पढ्न किर्तपुर लाग्छु | तर उ अझै घन्टाघर वरिपरी भेटिन्छ | मलाई शंका लाग्छ | अब उ पढाइ छोड्दैछ, अनि राजनितीमै रमाउदैछ | तर अर्को वर्ष उ किर्तिपुरमा भेटिन्छ | एम्.एस्.सी रसायनशास्त्रको विभागमा | उ ‘जुनियर’ भएको छ मेरो | भन्दै थियो- अब म ‘सबै’ छोडेर पढ्छु | ‘सबै’ भनेको राजनिती | किर्तिपुरमा फेरि जोडिन आइपुग्छ मसंग | उसका सबै साथिहरु दोश्रो वर्षमा छन् | त्यसैले प्राय उ हामीसंगै हुन्छ | सानो क्यान्टिन छ गोबिन्द बाजेको | आलु परौठा बनाउन माहिर छन् बुढा | हाम्रो जमघट त्यहि हुन्छ सधै |
उ कक्षामा कहिले बस्दैन | प्राय गोबिन्द बाजेकै क्यान्टिमै भेटिन्छ | अक्कलझुक्कल लाइब्रेरी जान्छ | रसायनशास्त्रका किताब खासै पढ्दैन | खोइ, के के पढीबस्छ ! कथा, उपन्यास, जीवनी यस्तै उस्तै !
प्रथम वर्षको परिक्षा आउन तीन महिना बाँकी छ | मेरो कोठामा झुल्कन्छ | भए भरको नोट कापीहरु झोलामा हाल्छ | अब फेरी तीन महिनापछि भेटिन्छ | उसले अर्को ‘भुमिगत’ जीवन पार गरेको छ, बि.एस्.सी भन्दा दुइ महिना लामो ! राम्रो अंक ल्याएपनि बिशिस्ट श्रेणी नआएकोमा गुनासो गर्छ | सानोतिनो अनुसन्धान सकेको छ | थेसिस तयार गर्छ | थेसिस प्रस्तुत गरेको रात उसको पार्टी छ | गोबिन्द बाजेको क्यान्टिनमा कुखुरा पाकेको छ | रक्सीको कार्टुनको जुगाड पनि लगाइसकेको छ | टन्न रक्सि खुवाउछ साथीहरुलाई | रात छिप्पिसकेपछी मात्रै कोठा फर्कन्छ |
अब उसले मास्टर्स सकेको छ | बाबुआमाको ठूलो अपेक्षा छ | छोरो अब कमाउन थाल्छ | पैसा पठाउछ | यस्तै त्यस्तै | एउटा निजी १० जोड २को शिक्षक भएको छ | रसायनशास्त्र पढ़ाउछ | बिद्यार्थीसंग नजिक हुन्छ | एकदिन क्याफेमा भेटिएको थियो | आफ्ना बिद्यार्थीसंगै चिया चुरोट खादै थियो | उसलाई पढाउने काम पट्यार लाग्न थाल्छ | तलब बुझेको दिन कीर्तिपुरमा पार्टि गर्छ | उसका केहि साथीहरु छन्, कीर्तिपुरमा कुरिरहेका भेटिन्छन् | पैसा बचाउदैन | कलेजबाट सिधै भृकुटीमण्डप आइपुग्छ | ‘सरिता’ को चियापसल उसको नयाँ ‘जक्सन’ बनेको छ | उसको सर्कलको जमघट दिनहुँ हुन्छ | प्राय चिया चुरोटको पैसा उसैले नै तिर्छ | अक्कलझुक्कल सापटी खोज्छ | इमान्दार छ पैसा बुझे पछी चुक्ता गर्छ |
दुइ वर्ष शिक्षक भएर बिताउछ | ब्यबस्थापनको रुखो ब्यबहार सहन सक्दैन | जागीर छोड्छ | जागिर छोडेको रात भब्य पार्टी गरेको थियो कीर्तिपुरमा | अचम्मको खुसि देखिन्थ्यो मुहारमा | मैले त्यस्तो खुसि उ हिरासतबाट मुक्त हुदा मात्रै देखेको थिएँ | भन्दै थियो- यो पेशा मेरो लागि ‘जेल’ सरह हो !
उ सडकमा आइपुगेको छ फेरि | अक्कलझुक्कल घन्टाघरतिर देखिन्छ | उसका केहि साथीहरु ठूला नेता भैसकेका छन् | कोहि ब्यापार व्यवसायमा लागेका छन् | कमै भेट्छ पुराना साथीहरु | हरि दाइको पसल छ त्रिचन्द्र अगाडी | उ फेरी त्यहाँको नियमित ग्राहक बनेको छ | कहिले भृकुटीमण्डप पुग्छ | एउटा अध्ययन केन्द्र छ पुतलीसडकमा, टुकुचाको छेउमा | त्यहाँ जमघट भइरहन्छ | मार्क्सबादको बहस हुन्छ | देशको परिस्थितीको चर्चा परिचर्चा हुन्छ | त्यहाँको नियमित सदस्य बनेको छ |
दिनहुँ प्रश्नबाट घेरिन्छ | के गर्दै छस् ? विवाह गरिस् ? कति पैसा कमाइस् ? अब के गर्छस् ? उ छेलिन खोज्छ प्रश्नरुपी गोलिबाट | भाग्न घोज्छ समयसंग | तर उसलाई नै थाहाछैन, अब उ के गर्छ | मैले सोध्ने आँट गरेको छैन- अब तँ के गर्छस् ? एकदिन मसंग सपनाको कुरा गरेको थियो | अचम्म लाग्दो सपना | गाउँमा बसेको | अजङ्गको पहाडको टुप्पोमा सानो झुपडी उसको घर | वरिपरी कुखुराको बथान | ठूलो घाँसी चौर | एक हुल भेडाबाख्रा | उ बाख्रा गोठालो | भन्दै थियो – अब म साच्चै बाख्रा गोठालो बन्दैछु !