घन्टाघर वरपर घुमेको सपना
घन्टाघर वरपर घुमेको सपना
-खिम पन्थी
एउटा ठिटो ! आकाशे रंगको सर्ट, निलो पाइन्ट र
गोल्डस्टार जुत्ता | पछाडी जिनको झोला | त्यसभित्र एउटा प्लास्टिकमा जतनसाथ
बेरिएको एस्.एल.सी प्रथम श्रेणीको लब्धांक | ओर्लन्छ काठमाडौँ आजभन्दा तेह्र बर्ष अगाडी
| रानीपोखरी छेउको घन्टाघर, त्यहिको त्रिचन्द्र क्याम्पसमा भर्ना हुन्छ | आइ.एस्.सी
पढ्न थाल्छ | पढ्न थाल्छ भन्दा नि घोक्न थाल्छ सुत्रहरु ! कहिले बागबजारको ट्युसन
सेन्टर त कहिले क्याम्पसका कक्षाकोठा | भौतारीरहन्छ | सहर भीमकाय लाग्छ | यता उता
त्यतिकै कुद्न मनपराउछ | प्राय पैदल हिड्छ | अक्कलझुक्कल गाडी चड्छ |
आन्दोलनको मौसम छ | क्याम्पस सधैंजसो अशान्त
हुन्छ | कक्षा पनि अक्कलझुक्कल हुन्छन् | प्रयोगशालामा प्राक्टिकल चलिरहेको छ |
एक्कासी बाहिर कोलाहल सुनिन्छ | अनि बाहिर निस्कन्छ साथीहरुको हुल संगै | केहि तहह
हुदैन त्यसपछि उसलाई | ब्युझदा आफुलाई बिर अस्पतालको आकस्मिक कक्षामा भेट्छ |
टाउकोमा पट्टि बाधिएको छ |नजिकै छ स्लाइनका बोतल |
क्याम्पस भर्ना भएको एक हप्तामा नै उ घाइते हुन
पुग्छ | उ आन्दोलनकारी थिएन | उसलाई कुनै सरोकार पनि थिएन | प्रयोगशालाबाट बाहिर
निस्कदा प्रहरीको लाठी चार्जमा परेको थियो | रगताम्मे भएर लडेपछि कसैले उसलाई
अस्पताल पुर्याएका थिए | उ चिन्दैन कसले पुर्यायो अस्पताल !
क्याम्पसमा उसको नाम चलिसकेको थियो | आन्दोलनको
घाइते भनेर सम्मान थाप्छ | बिस्तारै क्याम्पसका ‘दाइ’ हरुले चिन्न थाल्छन् | चिया
खान बोलाउछन् | माया गर्न थाल्छन् | उसलाई बिरानो ठाउँमा आफन्त भेटेझैँ लाग्न
थाल्छ | अब उ कक्षामा भन्दा धेरै क्याम्पसको गार्डेन र क्यान्टिनमा भेटिन थाल्छ |
उसको नामको अगाडी अब कमरेड झुन्डिएको छ | कमरेड ‘विकास’
| सानोतिनो आन्दोलन अब एक्लै मच्चाउन सक्ने भएको छ | स्ववियु चुनाव आउछ |
उम्मेदवार बन्छ तर हार्छ | जेनतेन पढाइलाइ अगाडी बढाएकै छ | बेलुका अलि ढिलो सुत्छ
| घोक्नुपर्छ फिजिक्स्का थियोरी | रसायनशास्त्रका समीकरण | प्राक्टिकल त उसले
नगरेपनि हुन्छ | ल्याब दाइहरुलाई चिनेको छ | कतिपय शिक्षक पनि उसको चिया पिउने सर्कलमा
परिसकेका छन् | तर उसलाई थियोरी परिक्षाको डर छ | परिक्षा आउनु केहि महिना अगाडी
देखि ‘भूमिगत’ हुन्छ | अनि झुल्कन्छ परिक्षा सकेर | परीक्षाफल
आउछ | प्रथम श्रेणीमा उतिर्ण हुन्छ | सबैको अगाडी ‘सान’ झार्न थाल्छ | कतिले
पत्याउदैनन् उसको अंक | आशंका गर्छन् | कतै यसले ‘धन्दा’ त गरेन |
‘धन्दा’ भनेको बुझ्ने भैसकेको छैन | बिस्तारै बुझ्न
थाल्छ | एकदिन उसलाई पन्चकन्या क्याम्पस अगाडिको क्याफेमा बोलाइन्छ | अगाडी आइ.एस्.सी
प्रथम वर्षको रसायनशास्त्रको प्रश्नपत्र र संगै उत्तरपुस्तिका टक्राइन्छ र लेख्न
लगाइन्छ उत्तरहरु | उ फटाफट लेख्छ उत्तर |
केहि समय पछी ‘सिनियर’ दाइ आउछन् | पोको पारेर क्याम्पस
भित्र छिर्छन् | त्यसदिन उसलाई खसीको मासु र भात ख्वाइन्छ नजिकको होटेलमा | बल्ल
त्यहाँबाट निस्कदा उसले बुझ्छ ‘धन्दा’ के हो |
बा आमाको डाक्टर बनाउने सपना छ | एम्.बि.बि.एस्
प्रवेश परिक्षाको फारम भर्छ | केहि महिना मोटा किताब पढेर बस्छ, बाहिर त्यति निस्कदैन
|
असोजको पहिलो हप्ता | उ डाक्टर बन्ने कि नबन्ने भन्ने
कुराको टुंगो लगाउने परिक्षा छ | सिनियर दाइसंग भेट्छ |
‘बिरगंजमा सम्मेलन छ ‘राष्ट्रिय’
जान पर्छ भाइ’ दाइले भन्छन् |
कोठा पुगेर झोला प्याक गर्छ अनि लाग्छ बिरगंजमा
हुने ‘राष्ट्रिय’ सभामा | काठमाडौँमा उसको परिक्षा छुटिसकेको हुन्छ |
अब उसंग बि.एस्.सी भर्ना हुने भन्दा कुनै गतिलो
उपाय छैन | फेरी कुद्न थाल्छ घन्टाघरतिर |
राजाले ‘कु’ गर्छन् | सहर शान्त हुन्छ | रेडियो, टिभी,
मोबाइल सबै बन्द छ | उसलाई खबर पठाइन्छ बिहानै क्याम्पस आउनु भनेर | सबेरै पुग्छ |
चार-पाँच जना दाइहरु जम्मा हुन्छन् | दुइ-तीन जना त उसकै साथि जम्मा गर्छ |
प्रयोगशाला मुनिको अध्यारो कोठा | अलिकति पेट्रोलको व्यवस्था हुन्छ | पुराना कपडाहरु
जम्मा गरिन्छ | केहि समयमा राजा ज्ञानेन्द्रको ‘पुत्ला’ तयार हुन्छ | पुत्ला बोकेर
सडकमा निस्किन्छ | नाराबाजी सुरु हुन्छ | चारैतिरबाट प्रहरीको घेरामा पर्छ |
समातिन्छ र नजिकैको प्रहरी चौकीमा पुर्याइन्छ | अब उ बन्दि भएको छ, बिद्रोही भएको
छ | राजद्रोहको अभियोग लाग्छ | एउटा ठुलो बन्दिगृहमा पुग्छ | उ जस्तै अभियोगका
साठी-सत्तरी मान्छे भेट्छ | अधिकांश ठूला नाम चलेका नेता भेटिन्छन् | सबैभन्दा
कान्छो बन्दि उ नै छ | सबैले माया गर्छन् | राजनीतिक किताबहरु पढ्न दिन्छन् | बिपी,
पुष्पलालका किताबहरु पढ्न थाल्छ | म केहि कोर्सका किताबहरु पुर्याइदिन्छु | परिक्षा
नजिकै आइरहेको छ | म संगको भेटमा पढ़िराछु भन्दै थियो | मलाई अचम्म लाग्छ, कसरि
पढ्न सक्छ त्यत्रो मानिसको हुलमा |
अदालतको आदेश आउछ | उसलाई लगाइएको आरोप प्रमाणित
हुदैन | रिहा हुन्छ | त्यहि दिन फेरी क्याम्पसको गार्डेनमा भेला बस्छ | एक महिनापछि
बि.एस्.सी प्रथम बर्षको परिक्षा छ | अब फेरी उसको ‘भूमिगत’ जीवन सुरु हुन्छ |
परिक्षा राम्रो गर्छ | रिजल्टको दिन | सबैभन्दा अगाडी ‘मार्कसिट’ हात पार्छ | ७५ प्रतिशत
ल्याएको हुन्छ | हामीलाई फेरी पत्यार लाग्दैन | हाम्रो ब्याचको ‘टपर’ उही हुन्छ |
फेरी कोही-कोही भन्न थाल्छन्, ‘धन्दा’ गर्यो कि क्या हो यसले ? दोश्रो वर्षको
कक्षा सुरु हुन्छ | उसलाई बिरलै कक्षाम भेटिन्छ | प्राय गार्डेन तिरै कुदिरहेको
हुन्छ हातमा सेतो ‘My Clear Bag’ हुन्छ | भर्नाका कागजात बोकी डुल्छ |
कसैको भर्ना छुट्यो भने उसलाई नै गुहारिन्छ | छात्रवृत्तिको फारम, परिक्षा फारम देखि
प्रवेसपत्रका चांगहरु उसको झोलामा हुन्छन् | अब त उ पनि ‘दाइ’ भैसकेको छ ! कमिटिको
सचिब अरे ! स्वागत कार्यक्रम चलाउछ | सबैलाई मन छुने भाषण ठोक्छ | प्राय
विद्यार्थीको ठूलो हुलले घेरिएको भेटिन्छ |
दोश्रो बर्षको परीक्षाफल आउछ | अघिल्लो बर्षको
भन्दा कम नम्बर ल्याएको छ | तर उसलाई चिन्ता छैन | बिहानै क्याम्पस आउछ | राति आठ
नबजी कोठा जादैन |
फेरी चुनावको मौसम छ | जोडतोडले प्रचार चलेको छ |
उ पनि उम्मेदवार बन्छ | यसपाली उसको सम्भावना राम्रो छ | मनोनयन दर्ता गर्छ |
सबैसंग सहयोगको अपिल गर्छ | म पनि लागेको छु उसलाई जिताउन | तर उम्मेदबारको अन्तिम
नामावली प्रकाशन हुदा उसको नाम सुचिमा हुदैन | उसको संगठनले आन्दोलन गर्छ |
क्याम्पस तोडफोड हुन्छ | उसकै उम्मेदबारी रद्दको बिषय ठूलो बन्छ | अब उ उम्मेदबार
रहेन | थाहाछैन उसको नाम किन हटाइयो ? मनोनयनपत्रमा हस्ताक्षर छुटेकाले उम्मेदबारी
रद्द भयो भन्छ प्रशासन | उ मान्न तयार छैन | भन्छ- म बिरुद्द षड्यन्त्र रचियो |
क्याम्पसमा उसको संगठनको पकड मजबुत देखिन्छ | चुनाब हुन्छ | उसका साथीहरुले चुनाब
जित्छन् | उ त्यहि खुसीमा रमाउछ |
बि.एस्.सीको पढाइ सकिन्छ | उ संगठनको अध्यक्ष
भएको छ क्याम्पसको | म एम्.एस्.सी पढ्न किर्तपुर लाग्छु | तर उ अझै घन्टाघर वरिपरी
भेटिन्छ | मलाई शंका लाग्छ | अब उ पढाइ छोड्दैछ, अनि राजनितीमै रमाउदैछ | तर अर्को
वर्ष उ किर्तिपुरमा भेटिन्छ | एम्.एस्.सी रसायनशास्त्रको विभागमा | उ ‘जुनियर’ भएको
छ मेरो | भन्दै थियो- अब म ‘सबै’ छोडेर पढ्छु | ‘सबै’ भनेको राजनिती | किर्तिपुरमा
फेरि जोडिन आइपुग्छ मसंग | उसका सबै साथिहरु दोश्रो वर्षमा छन् | त्यसैले प्राय उ
हामीसंगै हुन्छ | सानो क्यान्टिन छ गोबिन्द बाजेको | आलु परौठा बनाउन माहिर छन्
बुढा | हाम्रो जमघट त्यहि हुन्छ सधै |
उ कक्षामा कहिले बस्दैन | प्राय गोबिन्द बाजेकै
क्यान्टिमै भेटिन्छ | अक्कलझुक्कल लाइब्रेरी जान्छ | रसायनशास्त्रका किताब खासै
पढ्दैन | खोइ, के के पढीबस्छ ! कथा, उपन्यास, जीवनी यस्तै उस्तै !
प्रथम वर्षको परिक्षा आउन तीन महिना बाँकी छ | मेरो
कोठामा झुल्कन्छ | भए भरको नोट कापीहरु झोलामा हाल्छ | अब फेरी तीन महिनापछि भेटिन्छ
| उसले अर्को ‘भुमिगत’ जीवन पार गरेको छ, बि.एस्.सी भन्दा दुइ महिना लामो ! राम्रो
अंक ल्याएपनि बिशिस्ट श्रेणी नआएकोमा गुनासो गर्छ | सानोतिनो अनुसन्धान सकेको छ |
थेसिस तयार गर्छ | थेसिस प्रस्तुत गरेको रात उसको पार्टी छ | गोबिन्द बाजेको
क्यान्टिनमा कुखुरा पाकेको छ | रक्सीको कार्टुनको जुगाड पनि लगाइसकेको छ | टन्न
रक्सि खुवाउछ साथीहरुलाई | रात छिप्पिसकेपछी मात्रै कोठा फर्कन्छ |
अब उसले मास्टर्स सकेको छ | बाबुआमाको ठूलो अपेक्षा
छ | छोरो अब कमाउन थाल्छ | पैसा पठाउछ | यस्तै त्यस्तै | एउटा निजी १० जोड २को शिक्षक
भएको छ | रसायनशास्त्र पढ़ाउछ | बिद्यार्थीसंग नजिक हुन्छ | एकदिन क्याफेमा भेटिएको
थियो | आफ्ना बिद्यार्थीसंगै चिया चुरोट खादै थियो | उसलाई पढाउने काम पट्यार
लाग्न थाल्छ | तलब बुझेको दिन कीर्तिपुरमा पार्टि गर्छ | उसका केहि साथीहरु छन्, कीर्तिपुरमा
कुरिरहेका भेटिन्छन् | पैसा बचाउदैन | कलेजबाट सिधै भृकुटीमण्डप आइपुग्छ | ‘सरिता’
को चियापसल उसको नयाँ ‘जक्सन’ बनेको छ | उसको सर्कलको जमघट दिनहुँ हुन्छ | प्राय
चिया चुरोटको पैसा उसैले नै तिर्छ | अक्कलझुक्कल सापटी खोज्छ | इमान्दार छ पैसा
बुझे पछी चुक्ता गर्छ |
दुइ वर्ष शिक्षक भएर बिताउछ | ब्यबस्थापनको रुखो
ब्यबहार सहन सक्दैन | जागीर छोड्छ | जागिर छोडेको रात भब्य पार्टी गरेको थियो
कीर्तिपुरमा | अचम्मको खुसि देखिन्थ्यो मुहारमा | मैले त्यस्तो खुसि उ हिरासतबाट
मुक्त हुदा मात्रै देखेको थिएँ | भन्दै थियो- यो पेशा मेरो लागि ‘जेल’ सरह हो !
उ सडकमा आइपुगेको छ फेरि | अक्कलझुक्कल घन्टाघरतिर
देखिन्छ | उसका केहि साथीहरु ठूला नेता भैसकेका छन् | कोहि ब्यापार व्यवसायमा
लागेका छन् | कमै भेट्छ पुराना साथीहरु | हरि दाइको पसल छ त्रिचन्द्र अगाडी | उ
फेरी त्यहाँको नियमित ग्राहक बनेको छ | कहिले भृकुटीमण्डप पुग्छ | एउटा अध्ययन
केन्द्र छ पुतलीसडकमा, टुकुचाको छेउमा | त्यहाँ जमघट भइरहन्छ | मार्क्सबादको बहस
हुन्छ | देशको परिस्थितीको चर्चा परिचर्चा हुन्छ | त्यहाँको नियमित सदस्य बनेको छ |
दिनहुँ प्रश्नबाट घेरिन्छ | के गर्दै छस् ? विवाह
गरिस् ? कति पैसा कमाइस् ? अब के गर्छस् ? उ छेलिन खोज्छ प्रश्नरुपी गोलिबाट |
भाग्न घोज्छ समयसंग | तर उसलाई नै थाहाछैन, अब उ के गर्छ | मैले सोध्ने आँट गरेको
छैन- अब तँ के गर्छस् ? एकदिन मसंग सपनाको कुरा गरेको थियो | अचम्म लाग्दो सपना |
गाउँमा बसेको | अजङ्गको पहाडको टुप्पोमा सानो झुपडी उसको घर | वरिपरी कुखुराको बथान
| ठूलो घाँसी चौर | एक हुल भेडाबाख्रा | उ बाख्रा गोठालो | भन्दै थियो – अब म साच्चै
बाख्रा गोठालो बन्दैछु !


0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home